Play all audios:
गुरुकुलको अन्तिम ब्याचका अन्तिम विद्यार्थी हुन्, विपिन कार्की । जतिबेला विपिन उदाउँदै थिए, ठ्याक्कै त्यही बेला गुरुकुल अस्तायो । <?xml encoding="UTF-8"??> तैपनि उनलाई लाग्छ,
अभिनय करिअरको ‘गोल्डन टाइम’ हो गुरुकुल । छोटो तर स्वर्णिम । हरेक फिल्ममा भिन्न भूमिकामा देखिएर आकर्षणको केन्द्र बन्ने यी अभिनेता भन्छन्– ‘गुरुकुलबाट मैले अभिनय होइन, जीवन जिउन सिकें । त्यसकै
प्रतिफलस्वरूप प्रत्येक फिल्म र पात्रमा फरक काम गर्ने प्रयास गरिरहेको छु ।’ यतिबेला सहरमा चलिरहेको छ ‘जात्रा’ । त्यसमा उनले भूमिका निर्वाह गरेको चरित्र हो, फणीन्द्र तिम्सिना अर्थात् फडु । जो
असनमा स्टेसनरी पसल थापेर गुजारा चलाइरहेको छ । खुसी त छ तर धनी ससुरालीको पेलानमा परेर निरीह । अत्यन्त सामान्य प्रवृत्तिको यही पात्रका कारण अहिले विपिनको कलाकद झन् बढेको छ । फडुको कहानी कहनु
पहिले, विपिनको चरित्र पृष्ठभूमितर्फ जाउँ । अघिल्लो वर्ष प्रदर्शित ‘पशुपतिप्रसाद’ मा उनी भस्मे डनको भूमिकामा देखिए । यो चरित्रले उनलाई आधा दर्जन अवार्ड दिलाएन मात्र, ‘छड्के’ को विन्दु माझीको
छविलाई रिप्लेस पनि गर्यो । भस्मे डनलाई जीवन्त बनाउनै खातिर कपाल खुइल्याए, सानो टुप्पी राखे, पुलिसवाला चस्मा लगाए । भासिएको स्वर बनाए । पात्रको यो सबै चालढाल उनी आफैंले तयार पारेका हुन् ।
आफ्नो क्यारेक्टरको आफैं डाइरेक्टर बन्नु विपिनको पहिचान बनिसकेको छ । विन्दु माझीको चरित्र निर्माण र फिनिसिङ पनि उनकै करामत हो । स्क्रिप्ट अनुरूप आवारा र गुन्डाको भूमिका थियो । यसलाई आकर्षक र
विश्वसनीय बनाउन कपालमा पहेंलो दले, झुसे दारी रंग्याए, बोल्ने शैली पनि फरक थियो । अभिनेता सौगात मल्लबाट प्रभावित यी अभिनेता भन्छन्– ‘कलाकारले आफ्नो पात्रलाई आफैं सकेसम्म फरक र अब्बल बनाउने हो
। निर्देशकको भर परेर हुन्न ।’ त्यो नहुँदो हो त, सौगात, दयाहाङ राई, रवीन तामाङजस्ता मल्टिस्टारर ‘छड्के’ मा उनी ‘मार्क’ हुन्थे होला र ! ‘छड्के’ र ‘पशुपतिप्रसाद’ बीचको ‘ताण्डव’ मा विपिन सीमा
क्षेत्रको जँड्याहा ड्राइभर र ‘सुन्तली’ मा गाउँको एक्लो चोरका रूपमा देखापरे । भूमिका सानो थियो, तर अन्यभन्दा विपिनकै चरित्रले चर्चा पायो । किनभने उनी रोल छोटो होस् या लामो, वास्ता राख्दैनन्,
जस्तो भए पनि डेप्थमा पुगेर फिल गर्छन् । चरित्रमा कतिसम्म निखारता ल्याउँछन् भने सुटिङकै दौरान निर्देशकले भूमिका लम्बाइ दिन्छन् । ‘सुन्तली’, ‘लुट’, ‘आचार्य’ र ‘ताण्डव’ को सवालमा यही भएको हो ।
कालो पोथीको छोटो भूमिकालाई जीवन्तता दिन उनले मुगुको दलित बस्ती काँर्कीवाँडीमा दुई महिना बिताए । हरेक चरित्रको गहिराइमा पुग्ने बानीले विपिनलाई आमभन्दा अलग अभिनेता त बनाएकै छ । तैपनि हरेक पटक
एक्स्पेरिमेन्ट गर्ने र सकेसम्म नयाँ चरित्रमा काम गर्ने लोभ ओरालो लागेको छैन, बरु झन् झन् उकालो लाग्दो छ । फेरि भस्मे डनको लाउड क्यारेक्टरलाई रिप्लेस गर्नु चुनौती पनि थियो । दर्शकको यही
अपेक्षा पूरा गर्न पशुपतिप्रसादपछि अफरको ओइरो लाग्दा पनि नौ महिना कुनै फिल्ममा काम गरेनन् । किनकि न तिनमा उनको भूमिका प्रभावकारी थियो, न मेकिङ दमदार हुने छाँटकाँट नै देखे । तर निर्देशक प्रदीप
भट्टराई र कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जब ‘जात्रा’ को स्क्रिप्ट थमाए, विपिनको जोश ह्वात्तै बढ्यो । सुनाउँछन्– ‘कन्सेप्ट र टिम दुवै चित्तबुझ्दो थियो । तैपनि स्क्रिप्टको
पुनर्लेखनको पहिलो चरणबाटै म सक्रिय भएँ । जसले मलाई फिल्म र पात्रमा भिजाउँदै लग्यो ।’ विपिनले आफूले बोल्ने संवाद मात्र होइन, कति सिन पनि इप्रोभाइज गरेका छन् । पात्रमा निखारता ल्याउन हप्ता दिन
असनका गल्लीगल्ली चहारे, त्यहाँका व्यापारीको हाउभाउ र मनोविज्ञान नियाले । यो अवलोकनले चरित्रको बोल्ने शैली र हुलिया निर्माणमा सहयोग पुग्यो । जात्राका अन्य दुई कलाकार रवीन्द्रसिंह बानियाँ र
रवीन्द्र झासँग विपिनको केमेस्ट्री खबु जमेको छ । अनि भस्मेभन्दा हरेक कोणबाट फरक पनि छ, फणीन्द्र तिम्सिना अर्थात् फडु । भस्मे लाउड थियो भने फडु अति शान्त र निरीह स्वभावको । रमाइलो त के भने
पत्नी र छोरालाई निकै माया गर्ने यो चरित्रलाई युवतीहरूले औधी रुचाएका छन् । विपिन मुस्कुराउँछन्– ‘भस्मे डन, रक्स्याहा ड्राइभर र विन्दु माझीजस्ता नकारात्मक चरित्रले गर्दा केटीहरू खासै फ्यान
थिएनन् । अहिले त गाला चिमोट्दै सेल्फी खिच्न थालेका छन् । कोही कोही त फडु भनेर जिस्काउँछन् पनि ।’ विपिनका दुई फिल्म प्रदर्शनका लहरमा छन्, ‘लुट २’ र ‘लालपुर्जा’ । पित्तले नामक ग्याङस्टारको
भूमिकामा छन् ‘लुट २’ मा, अनि ‘लालपुर्जा’ मा चाहिँ सोझो गाउँले किसान । अर्थात् फेरि पनि भिन्न भूमिका । अनि त हिरोको स्टेरियोटाइप हुलियामा पटक्कै म्याच नहुँदा पनि विपिनको क्रेजको रफ्तार कसले
रोक्न सकोस् ? प्रकाशित : मंसिर १०, २०७३ १८:०८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com